


वडादशैँ, तिहार तथा छठ पर्व–२०८३ को पावन अवसरमा नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत कालिका संस्कृत विद्यापीठ, गैँडाकोटमा शुभकामना आदानप्रदान तथा सेवा निवृत्त शिक्षकको सम्मान कार्यक्रम सम्पन्न भएको छ।
विद्यापीठका क्याम्पस प्रमुख डा. केशवराज चालिसेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कालिका संस्कृत विद्यापीठ सञ्चालक समितिका अध्यक्ष श्री ओमप्रसाद सापकोटा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा सञ्चालक समिति सदस्यहरू श्री वेदप्रसाद गौँडेल, श्री दोलराज पाण्डे तथा श्रीमती हरिमाया अधिकारीको उपस्थिति रहेको थियो।
कार्यक्रमका अवसरमा नेपाल संस्कृत विश्वविद्यालयमा ३३ वर्षसम्म प्राध्यापन सेवा गरी कालिका संस्कृत विद्यापीठबाटै सेवा निवृत्त हुनुभएका सहप्राध्यापक नारायणप्रसाद पौड्याललाई सम्मान गरिएको थियो। उहाँले विश्वविद्यालयको शैक्षिक क्षेत्रमा पुर्याउनुभएको लामो योगदानको कदर गर्दै सम्मान गरिएको हो।
कार्यक्रममा सहप्राध्यापक डा. मतिप्रसाद ढकाल, सहप्राध्यापक डा. रामचन्द्र कण्डेल तथा स्वतन्त्र विद्यार्थी युनियनका उपसभापति एवं विद्यार्थी प्रतिनिधि श्री मिलनकुमार पराजुलीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। वक्ताहरूले चाडपर्वको शुभकामना आदानप्रदान गर्दै कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो।
कार्यक्रममा विद्यापीठका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन तथा उद्घोषण विद्यापीठका लेखा अधिकृत श्री बेलबहादुर दराईले गर्नुभएको थियो।

